दिगो विकास लक्ष्य प्राप्तिका लागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्यः मन्त्री बराल

रुपन्देही, २ असोज । ‘कोभिड –१९ को अवस्था, गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता’ भन्ने नाराका साथ आज सातौं परिवार योजना दिवस मनाइँदैछ ।
दिवसको अवसरमा प्रदेश ५ का सामाजीक विकास मन्त्री सुदर्शन बरालले मातृ तथा नवजात शिशु मृत्युदर र रुग्णता घटाई स्वास्थ्य र दिगो विकासका लक्ष्य प्राप्तिका लागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको बताए ।
प्रदेशको विशिष्ट जनसांख्यिक संरचना अनुसार परिवार योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले शहरी र ग्रामिण जनसंख्या, विविध धार्मिक, सांस्कृतिक समुदायका मुल्य र मान्यता तथा आजको वैज्ञानिक युग तथा योजनामा तादाम्यता मिलाउन सामान्य र विशिष्ट योजनाहरुको आवश्यकता देखिएको पनि उल्लेख गरे ।
मन्त्री बरालले प्रदेश सरकारले यस बिषयलाई आफ्नो ५ वर्षिय आवधिक योजनामा प्रााथमिकतामा राखी सेवाको पहुँच बढाउन विभिन्न कार्यक्रम गर्दै आइरहेको र हाल कोभिड –१९ को यस परिवेशमा पनि सेवाको सुनिश्चिताको लागि स्वास्थ्यकर्मीले सुरक्षात्मक विधि अपनाई निरन्तर रुपमा परिवार योजनाको सेवा दिइरहेको बताए ।
सातौं परिवार योजना दिवसले महिला तथा पुरुषको परिवार योजना सेवाको मागलाई पूर्ति गर्दै यस कोभिड–१९ को बिषम परिस्थितिमा पनि सबै स्वास्थ्य संस्थाबाट नियमित रुपमा गुणस्तरीय परिवार योजना सेवाको निरन्तर सुनिश्चितता गर्न सफल हुने मन्त्री बरालले विश्वास व्यक्त गरे ।