लुम्बिनी प्रादेशिक अस्पतालमा औषधि तथा बिरामी सुरक्षा युनिट स्थापना

रुपन्देही, २ असोज । नेपालमै पहिलो पटक लुम्बिनी प्रादेशिक अस्पतालमा औषधि तथा बिरामी सुरक्षा युनिट स्थापना भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले रिवन काटेर युनिटको उद्दघाटन गरेका हुन् । यो युनिट सरकारी अस्पतालमा स्थापना भएको नेपालमै पहिलो पटक हो ।
विश्व बिरामी सुरक्षा दिवसको अवसर पारेर युनिटको स्थापना गरिएको हो । युनिटमा औषधिको प्रयोग कसरी गर्ने, औषधिले साइड इफेक्ट गर्छ या गर्दैन, एकै पटक धेरै औषधि खादा त्यसको असर के हुन सक्छ तथा औषधि कसरी सेवन गर्ने विषयमा परामर्श दिइन्छ ।
प्रादेशिक अस्पतालका क्लिनिकल फर्माकोलोजिष्ट डा. बिजय भण्डारीले यो युनिटमा सेवा प्रदान गर्नेछन् । दुई साताअघि अस्पतालमा नियुक्त भएका उनले बिरामी सुरक्षा दिवस पारेर यो सेवा शुभारम्भ गरिएको बताए ।
उद्घाटन समारोहमा बोल्दै मेसु डा खनालले लुम्बिनी अस्पतालमा विशिष्टकृत सेवा बढ्दै गएको बताए । ‘पूर्वाधार निर्माणसँगै अस्पतालमा विशिष्टिकृत सेवा समेत विस्तार भइरहेका छन्’, उनले भने– ‘यो युनिट पनि अस्पतालका लागि निकै महत्वपूर्ण हो । यसबाट बिरामीले लाभ लिनेछन् ।’
यो युनिट ओपिडीका रुपमा सञ्चालन हुनेछ । बिरामीका लागि कुनै डाक्टरले औषधि लेखिसकेपछि बिरामीहरु यो युनिटमा आएर परामर्श लिन सक्नेछन् । बिरामीको उपचारका लागि दिइएको औषधिको प्रयोग, यसले गर्ने इफेक्ट, एकैपटक धेरै प्रकारका औषधि खादा हुने असरका विषयमा सफ्टवेयरबाट अध्ययन गरी परामर्श दिइने डा. भण्डारीले बताए । ‘यो युनिटले बिरामी र डाक्टरबीच सुमधुर सम्बन्ध स्थापित गर्ने काम गर्छ’, उनले भने ।
अहिले बिरामीहरुले डाक्टरले औषधि विकाउन धेरै खान भन्यो भन्ने आरोप लगाउने गर्छन् । यो युनिटले त्यसको उपयोगिताका विषयमा विरामीलाई जानकारी दिनेछ । औषधि तोकिएको समयसम्म नखादा रोगका किटाणुहरु झन बलिया हुदै जाने र पछि औषधिले नै काम नगर्ने अस्वथा सिर्जना भइरहेकाले जनचेतनाका लागि समेत यो युनिट फलदायी हुने अपेक्षा गरिएको छ ।
यसले उपचारलाई महंगो हुनबाट सहयोग गर्न मद्त गर्दछ । गलत औषधिको प्रयोगबाट समेत बचाउन यो युनिटले काम गर्नेछ । पछिल्लोसमय लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तार हुदै आएका छन् ।