कुपोषण दर न्यूनिकरणका लागि बाजुराको बुढीनन्दामा ‘उपप्रमुख कोसेली कार्यक्रम’



Download our app to get more features

बाजुरा, १ असोज । बाजुराको बुढीनन्दा नगरपालिकाले गर्भवती र सुत्केरी महिलाहरुको कुपोषण दर न्यूनिकरणका लागि ‘उपप्रमुख कोसेली कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

नगरपालिकामा भएका हजार दिनका आमाहरुलाई लक्षित गरेर यो कार्यक्रम अगाडि बढाएको उपप्रमुख सृष्टि रेग्मीले बताइन। बिहिबारबाट सुरु गरिएको उक्त कार्यक्रममार्फत हजार दिनकी आमालाई एक क्यारेट अण्डा, ज्वानो, लुगाधुने तथा नुहाउने साबुन र आयोडिनयुक्त नुन दिइने उनले बताइन् । 

सुत्केरीहरु कुपोषित हुने र उनीहरुको स्वास्थ्य कमजोर हुने भएकाले कोसेली कार्यक्रम सुरु गरेको उपप्रमुखले रेग्मीले बताइन् । बिहिबार नै बुढीनन्दा–३ की शितलपुरा बिकको अभिभावकलाई कोसेली प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।  

उपप्रमुख कोसेली कार्यक्रममार्फत हजार दिनका आमाका लागि संचालन उक्त अभियान राम्रो रहेको स्वंयसेविका बिस्ना विकले बताइन् । यसले थोरै भएपनि आमाहरुलाई पोषिलो खाना खाने बानीको विकाससँगै पोषणमा सहयोग पुग्ने उनले बताइन् । 

नगरपालिकाको नगरसभाबाट गर्भवती तथा सुत्केरी महिलाका लागि उपप्रमुख कोसेली कार्यक्रम पारित भएको थियो । नगरपालिकामा एक वर्षको अवधिमा ५ सयको हाराहारीमा गर्भवती हुने गरेको बुढीनन्दा स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि नगरपालिकाले रेफर गरिएका गर्भवतीलाई भाडास्वरुप २० हजार दिर्ने निर्णय गरेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts