३ महिला र १ पुरुष गरि थप ४ जनाको कोरोना संक्रमणका कारण निधन, संख्या ३ सय ८३ पुग्यो

काठमाडौं, १ असोज । नेपालमा थप ४ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ३ महिला र एक जना पुरुष गरि थप ४ जनाको कोरोना संक्रमणका कारण निधन भएको बताएको हो ।
मन्त्रालयका अनुसार निधन हुनेमा मोरङका ६४ वर्षीया महिला, चितवनका ३६ वर्षीया महिला र कैलालीका ५७ वर्षीया महिला रहेका छन् भने काठमाडौंका ८७ वर्षीय एक जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन हुनेहरुको संख्या ३ सय ८३ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ६४ प्रतिशत रहेको छ ।
यस्तै हाल नेपालभर १ सय ७३ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
Last modified on 2020-09-17 17:16:39