नेपालमा कोरोना भाइरसका कारण ५९ हजारभन्दा बढी संक्रमित, निको हुनेको संख्या ४२ हजार नाघ्यो

काठमाडौं, १ असोज । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५९ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १० हजार ६ सय ४१ पिसिआर परीक्षण गरिएकोमा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
यसैगरि नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ४२ हजार नाघेको छ । प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा थप १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको बताए ।
हाल नेपालमा १६ हजार २ सय ४१ सक्रिय संक्रमित रहेका छन् भने ७ हजार ९ सय तीन जना संस्थागत आइसोलेसनमा र ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।