धार्मिकस्थलमा भिडभाड गरे कारबाही हुने
.jpg&w=800&h=480&static=true)
काठमाडौं, १ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पारेपनि असोज १ गतेदेखि केही क्षेत्रलाई भने खुकुलो पारेको छैन ।
कोरोना भाइरसको संक्रमणलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय काठमाडौले मठ मन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्यपूजा बाहेक भीडभाड जन्य गतिविधिहरु सञ्चालन गर्न रोक लगाएको कार्य निरन्तरता दिने निर्णय गरेको छ।
यदि यसको उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार कारबाही हुने चेतावनी दिइएको छ। काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा खुल्ला स्थानमा मानिसहरु भेलाजम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न पनि अनिश्चितकालका लागि रोक लगाएको छ।
यस्तै काठमाडौं प्रशासनले जोरबिजोर प्रणालीमा मात्र सवारी साधन संचालन गर्न र मनोरञ्जन क्षेत्रका गतिविधि संचालनमा अझपनि रोक लगाएको छ। अर्को आदेश जारी नहुन्जेलसम्मका लागि यस्ता गतिविधिमा काठमाडौं प्रशासनले रोक लगाएको हो।