१५ शय्याको अस्पताल निर्माणका लागि चाहिने जग्गा सम्बन्धी व्यवस्था संशोधन
काठमाडौं, १ असोज । सरकारले १५ शय्याको अस्पताल निर्माणका लागि चाहिने जग्गा सम्बन्धी संशोधन गरेको छ ।
सोमवार बसेको मन्त्रीपरिषद बैठकले १५ शय्याको अस्पताल निर्माणका लागि एकै ठाँउमा कम्तीमा ९ रोपनी जग्गा चाहिने यसअघिको मापदण्डलाई संसोधन गरेको हो ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अब १५ शय्याको अस्पताल निर्माणका लागि ९ रोपनीको एक तिहाई जग्गा एक ठाँउमा र अरु जग्गा नजिकै भएपनि हुनेगरी मापदण्ड संसोधन गरिएको बताए ।
पहाडी क्षेत्रमा जग्गाको समस्या देखियो र एकै ठाँउमा भने जति भने जस्तो जग्गा नपाउने समस्या रहेको भन्दै त्यसलाई सम्बोधन गर्न एक ठाँउमा ३ रोपनी र एक किलोमिटर नजिकै बाँकी ६ रोपनी जग्गा भएपनि हुने गरी व्यवस्था मिलाइएको मन्त्री ढकालको भनाइ छ ।
मन्त्री ढकालले ठूलो भागमा अस्पताल बन्ने र सानो भागमा अस्पतालका स्वास्थ्यकर्मीहरुको क्वाटर, स्टोर आदि राख्न सकिने भन्ने उदेश्यले यो निर्णय गरिएको बताए ।
सरकारले हरेक पालिकाहरुमा कम्तिमा १५ शय््याको अस्पताल हुनुपर्ने व्यवस्था गरेको छ । तर पहाडका धेरै ठाउँमा जग्गा समस्याले पूर्ण कार्यान्वयन हुन सकेको छैन् ।