बिरामी सुरक्षा दिवस

स्वास्थ्यकर्मीहरूको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार प्रतिवद्धः मन्त्री ढकाल



Download our app to get more features

काठमाडौं, १ असोज । आज विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

असोज १ गते अर्थात् सेप्टेम्बर १७ तारेखको दिनमा हरेक वर्ष बिरामी सुरक्षा दिवस, विश्वव्यापी रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाइँदैछ ।

“सुरक्षित स्वास्थ्यकर्मी ः सुरक्षित बिरामी” भन्ने मूल नाराका साथ यस वर्ष यो दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दोस्रो विश्व बिरामी सुरक्षा दिवस २०२० को उपलक्ष्यमा उपचाररत बिरामी र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षा र सुस्वास्थ्यको कामना गरेका छन् ।

मन्त्री ढकालले कोभिड १९ महाविपत्तिको चपेटामा परेको बेला नेपालमा पनि ५८ हनारभन्दा बढी मानिसहरु संक्रमित भएको, ४० हजारभन्दा बढी स्वस्थ भइसकेका छन् भने ३ सय ७९ जनाले ज्यान गुमाई सकेको भन्दै यस विषम परिस्थितिमा बिरामीहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

महामारीबाट जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षा र प्रोत्साहन सहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । 

मन्त्री ढकालले उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू माथि हुने दुव्र्यवहार, भेदभाव र अवरोध जस्ता घटनाहरू पूर्ण रूपमा बन्द गर्न र स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद पनि दिए ।
 
कोरोनाको संक्रमणबाट आफु, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनु पर्ने विश्वव्यापी मान्यता र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन आम जनसमुदायलाई आव्हान गर्दै स्वास्थ्य संस्थाहरूमा हुने संक्रमण रोकथाम तथा नियन्त्रणमा आफ्नो दक्षता र सीपको उच्चतम प्रयोग गरी खटिन स्वास्थ्यकर्मीहरूलाई उनले आह्वान गरे ।

त्यसैगरी, विश्वव्यापी कोभिड महामारीको कारण निरन्तर प्रवाह गर्नु पर्ने आधारभूत, अत्यावश्यक तथा अन्य उपचारात्मक सेवाहरू प्रभावित भएको भन्दै मन्त्री ढकालले  स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थाहरूलाई थप सक्रिय हुन पनि अनुरोध गरे ।

मन्त्री ढकालले बिरामी, स्वास्थ्यकर्मी र जनसमुदायको सुरक्षाको लागि स्वास्थ्य संस्था भित्र र समुदायमा अपनाउनुपर्ने संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड र विधिहरूलाई पालना गर्न र गराउन स्वास्थ्यकर्मीहरू लगायत सबैमा अनुरोध पनि गरेका छन् ।

Last modified on 2020-09-17 08:33:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts