काठमाडौं उपत्यकामा व्यवसाय र होटलहरू पूर्ण रुपमा खुल्ने

यातायातमा जोरबिजोर कायमै रहने



Download our app to get more features

काठमाडौं, ३१ भदौ ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ गतेदेखि लागू गरेको निषेधाज्ञाको  समय बुधबार (आज) राति १२ बजे सकिँदैछ।

त्यसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ। बैठकले अब निषेधाज्ञा लगभग खुलाएको छ।

तर, केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेल ‘निषेधाज्ञा’ कायमै हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

बुधबारसम्म कायम निषेधाज्ञा लगभग हटेको छ। यसअघि  मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारीसाधन र आन्तरिक हवाई सेवासमेत खुलाउने निर्णय गरेको थियो।
दाहालका अनुसार यसअघि उपत्यकामा अत्यावश्यक र कार्यालय प्रयोजनबाहेक सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर यथावत् राख्ने निर्णय भएको छ।
 बिहीबारदेखि उपत्यकाका सबै नाका खुला पारिएको छ। नाकाबाट आवतजावत गर्दा हुने स्वास्थ्य जोखिमबारे अब सर्वसाधारण स्वयम् जिम्मेवार हुनुपर्ने दाहालले बताए।

उनका अनुसार अब सार्वजनिकरनिजी सवारीसाधन पूर्णरुपमा चल्न पाउँछन् तर, स्वास्थ्य मापदण्ड भने पालना हुनुपर्ने निर्णय भएको छ। मास्क, सेनिटाइजरलगायत स्वास्थ्यका मापदण्ड पालना भए(नभएको प्रशासनले अनुगमन गर्नेछ। नियम पालना नभएको देखिए संक्रामक रोग ऐनअन्तर्गत कारबाही गर्ने छ।

यस्तै,  बिहीबारदेखि सबै खाले पसल खुल्नेछन्, उनीहरूका लागि यसअघि तोकिएको समय र दिनको पावन्दी हटाइएको छ। यसअघि होटल खोल्न बन्देज लगाइएकोमा बिहीबारदेखि त्यो हटेको छ।

कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ। सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन्।

यसअघि अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु बिक्री वितरणमा समय तोकिएकोमा यो पनि हटेको छ।

टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सकिने यसअघिकै निर्णय थियो।

बैंकहरू सुचारु नै थिए। अब सहकारीमा लगाइएको समय पनि हटेको छ। शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने नियम यथावत् छ।

भाँडा भान्साका सामग्रीका पसल पनि पूर्णरुपमा खुल्नेछन्। फर्निचर र अटोमोबाइल पसल पनि पूर्ण खोल्न पाइने दाहालले बताए। वर्कसपहरू पूर्ण रुपमै खुल्नेछन्। 

फुटपाथ, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल तथा डिपार्टमेन्ट स्टोरहरू पनि खुल्ने निर्णय यथावत् कायम छ।

तर,  बढी भिड हुने डान्स सेन्टर, बार, फिल्म हल भने खोल्न पाइने छैन। खुल्ला स्थानमा सभा जुलुश, जात्रा महोत्सव हुन दिइने छैन। मठ मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन।

उद्योग र कलकारखाना चल्न दिइन्छ। स्वास्थ्य मापदण्डविपरीत भने सञ्चालन गर्न पाइँदैन। चाडपर्वमा हुने जमघट हुन दिइँदैन। शैक्षिक संस्था चल्ने छैनन्।

गोष्ठी, सेमिनार, स्पा, ब्युटी पार्लर खुल्ने छैनन्। सैलुन खोल्न पनि रोक लगाइएको छ। चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै नै रहने छन्।

निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने त्यस्ता पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो। यो पनि हटेको दाहालले बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts