रुपन्देहीमा २४ घण्टामा ४० जना कोरोना संक्रमित थपिए, संख्या १८ सय ६१ पुग्यो

रुपन्देही, ३१ भदौ । रुपन्देहीमा २४ घण्टामा ४० जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये १८ जना महिला र २२ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ८ सय ६१ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकामा १२ महिला र १२ पुरुष गरी २४ जना संक्रमित थपिएका छन् । यस्तै सैनामैना नगरपालिकामा ६ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकामा ४ जना र सियारी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।
रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार १ सय जना संक्रमित निको भएका छन भने ७ सय ४१ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।