काठमाडौंका २ सहित थप ८ जनाको कोरोना संक्रमणका कारण निधन, संख्या ३ सय ७९ पुग्यो

काठमाडौं, ३१ भदौ । नेपालमा थप ८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा ४ जना महिला र ४ जना पुरुष गरि ८ जनाको कोरोना संक्रमणका कारण निधन भएको बताएको हो ।
निधन हुनेमा सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय गरी ४ जना पुरुषहरु रहेका छन् । यस्तै बाराका ४६ वर्षीया, काभे्रपलाञ्चोकका ५५ वर्षीय, काठमाडौंका ७१ र ७४ वर्षीय ४ जना महिला रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ३ सय ७९ पुगेको छ भने कुल संक्रमितमा मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।
यसैगरी नेपालभर १ सय ७३ जनाको सघर उपचार कक्षमा उपचार भइरहेको छ भने २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।