कोरोना महामारीका कारण बालबालिकामा मानसिक समस्या बढ्दो

काठमाडौं, ३० भदौ । कोरोना महामारी र यसबाट उत्पन्न समस्याका कारण बालबालिकाहरुमा पनि मानसिक समस्या देखिन थालेको छ । कोरोनाको त्रास तथा लकडाउनका कारण उत्पन्न घरायसी समस्याका कारण बालबालिकाहरुमा पनि मानसिक समस्या देखिन थालेको डाक्टरहरुले बताएका हुुन् ।
विद्यालयहरु बन्द हुँदा पहिलेको कार्यतालिका फेरिनु, जताततै कोरोनाको त्रासका चर्चा हुनु, अभिभावकहरुको रोजगारी गुम्नु, व्यवसाय बन्द हुने तथा आम्दानी घट्नाले घरमा हुने कुराकानीका कारण बालबालिकामा समस्या देखिन थालेको मनोचिकित्सक सङ्घकी सहसचिव डाक्टर मीना राईले बताईन ।
बालबालिकाहरुमा मानसिक समस्या हुँदा तर्सिने, आत्तिने, उदास हुने, टाउको, पेट दुख्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिने डा. राईले बताईन । उनले त्यस्ता लक्षण देखिएमा आफ्ना बालबालिकालाई सम्झाइ बुझाइ गर्न आग्रह गरेकीछन् ।
यस्तै कतिपय बालबालिकाहरु मोबाइल, कम्प्युटरमा झुम्मिदा पनि स्वास्थ्यमा समस्या हुने भएकोले अभिभावक आफू पनि यस्ता उपकरण कम चलाउनुपर्ने र बालबालिकालाई पनि धेरै चलाउन दिन नहुने उनको भनाइ छ ।
उनले आफ्ना बालबालिकाको उमेर र क्षमताअनुसार दैनिक कार्यतालिका बनाएर कार्यान्वयन गरेमा बालबालिकामा मानसिक समस्या कम हुने जानकारी दिएकीछन् ।