वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा दास विरुद्ध मुद्दा दर्ता

काठमाडौं, ३० भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा बलभद्र प्रसाद दास विरुद्ध मुद्दा दर्ता भएको छ ।
पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. दास विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको आरोपमा मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।
दासले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले उनीमाथि अनुसन्धान गरेको अधिकारीको भनाइ छ ।