बुटवल उपमहानगरपालिकाका सबै दीर्घरोगीको निःशुल्क पीसीआर

रुपन्देही, २९ भदौ । बुटवल उप–महानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामीहरुको सोमबारदेखि कोरोना संक्रमण पिसिआर परिक्षण निःशुल्क गर्ने भएको छ ।
नेपाल सरकारबाट तोकिएका क्यान्सर, मिर्गौलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीहरुको निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरिएको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
यो सुविधा बुटवल उप–महानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ । यो सुविधा लिने सेवाग्राहीले आफू बसोबास गर्दै आएको वडा कार्यालयको सिफारिस र रोगको उपचारका अन्य आवश्यक कागजातसहित आउनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि उप–महानगरपालिकाका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई जिम्मेवारीसमेत तोकिएको उप–महानगरपालिकाले जनाएको छ ।
यस खालका बिरामीहरुको स्वाब संकलनका लागि नगरका वडा नं ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा र वडा नं १४ स्थित सेमलार स्वास्थ्य चौकीमा व्यवस्था गरिएको उप–महानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालद्वारा जारी सूचनामा जनाइएको छ ।
उपचार गराइरहेका दीर्घरोगका बिरामीहरुको यकिन तथ्याङ्क आउन नसके पनि वडागत सिफारिसका आधारमा करिब २ सयको संख्यामा रहेको अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।
उप–महानगरपालिकाले यस अघिनै मिर्गौलाको नियमित डायलाइसिस गराउने बिरामीहरुका लागि निशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको थियो ।