बिपी नेत्र प्रतिष्ठानलाई जापानको सहयोग
बाल अस्पताल तथा पुनःस्थापना सेवा (चियर्स) को छात्रावास निर्माणमा खर्च गरिने

चैत ५, काठमाडौँ । जापान सरकारले बाल अस्पताल तथा पुनःस्थापना सेवा (चियर्स) को छात्रावास निर्माणको लागी बिपी नेत्र प्रतिष्ठानलाई करिब ९७ लाख ४६ हजार आर्थिक सहयोग गरेको छ ।
सहयोगसम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत मासाही ओगावा र प्रतिष्ठानका अध्यक्ष डा. पूर्णचन्द्र कर्माचार्यले आज हस्ताक्षर गरेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।
उक्त रकम प्रतिष्ठानद्वारा स्थापित बाल अस्पताल तथा पुनःस्थापना सेवा (चियर्स) को छात्रावास निर्माणमा उपयोग गरिने छ । छात्रावासमा खासगरी नेत्र तथा सुस्त श्रवण भएका बालबालिकालाई राखिने र उपचार गरिनेछ ।
सन् १९९१ मा स्थापित प्रतिष्ठानले नेत्र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । प्रतिष्ठानले त्रि वि शिक्षण अस्पतालसँगको सहकार्यमा बिपी कोइराला लायन्स सेन्टर स्थापना गरी नेत्र विज्ञान विषयको अध्ययन अध्यापनमा सहयोग गदै आइरहेको छ ।