रुपन्देहीमा २४ घन्टामा थपिए मात्रै १४ जना संक्रमित
लुम्बिनी अस्पतालमा अब २५ सयमा कोरोना परीक्षण हुने

रुपन्देही, २८ भदौ । रुपन्देहीमा २४ घन्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाको बुटवल उपमहानगरमा ५ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना र देवदह नगरपालिका, मायादेवी गाँउपालिका, ओमसतिया गाँउपालिका र कञ्चन गाँउपालिकामा १÷१ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रादेशिक अस्पतालसहित केहि निजी अस्पतालले संक्रमितको विवरण समयमा नपठाउने गरेकाले एकमुष्ठ आएको रिपोर्ट सार्वजानिक गर्दा शनिबार ठूलो संख्या देखिएको स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोना फोकलपर्सन केदारनाथ साहले जानकारी दिए ।
रुपन्देहीमा थप १४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १६ सय ४४ पुगेको छ भने जिल्लामा १५ जना संक्रमितको मृत्यु भईसकेको छ ।
यसैबीच, लुम्बिनी प्रादेशिक अस्पतालले अबदेखि दिनको २५ सयको पिसिआर परीक्षण गर्ने भएको छ । परीक्षण गरिएकाहरुको रिपोर्ट सोही दिन दिइनेछ । परीक्षण क्षमता बढाएर दैनिक ४ देखि ५ सयको कोरोना परीक्षण गर्न सकिने छ । बिरामी, उच्च जोखिममा परेकाहरूको हकमा निःशुल्क परीक्षण गरिने र उनीहरूको हकमा २४ घन्टाभित्र रिपोर्ट दिइने छ ।
यसबाहेक सिकिस्त वा डाक्टरले आवश्यक छ भन्ने लागेमा त्यस्ता व्यक्तिको हकमा पनि साविक बमोजिम हुने कुरा अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । यसअघि पहिलो पटक रु ५५ सयमा परीक्षण भएको थियो भने पछिल्लो समय रु ४४ सय रहेको छ । २५ सयमा कोरोना परीक्षण गर्ने सोमबारदेखि लागू हुने अस्पतालका मेसु खनालले बताए । त्यस्तै नेपालमा यस अगाडि नोबेल शिक्षण अस्पतालले २ हजार ६ सयमा पिसिआर परीक्षण सुरु गरेको छ ।