निर्णय भएको ३ महिनापछि बझाङमा कोरोना परीक्षण गर्ने मेसिन पुग्यो, सञ्चालनमा समय लाग्ने

बझाङ, २७ भदौ । बझाङमा कोरोना परीक्षणका लागि आरटी पिसिआर मेसिन पुगेको छ । गत जेठमा बझाङका स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो ।
मेसिन ल्याउन सफल भएपनि सञ्चालनका लागि असोज पहिलो सातासम्म कुर्नुपर्ने जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा सन्दिप ओखेडाले बताए । उनका अनुसार मेसिन ल्याएपनि मेसिन जडान गर्ने बायोमेडिकल इन्जिनियर हाल बैतडीको मेसिन जडानमा व्यस्त भएकाले तत्काल जडान नसकिने भएको हो ।
बैतडीमा सकिनासाथ इन्जिनियर बझाङ आउने र प्रयोगशाला तयारी अवस्थामा रहेकाले इन्जिनियर आएको ३र४ दिनमै मेसिन जडान गरी सक्ने प्रमुख डा ओखेडाले बताए । उनले भने, ‘हामीलाई विभिन्न ठाउँबाट अवरोध भयो । समयमै स्थानीय तहबाट रकम जम्मा भएन । त्यसपछि दुई हप्ता टेण्डर प्रक्रियामै बित्यो । टेण्डर भइसकेपछि पनि ठेकेदारको अर्कै प्रक्रिया बाढी पहिरो लगायतले मेसिन समयमै ल्याउन सकिएन ।’
मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडौसँग १ करोड २५ लाख ४२ हजार १०० भ्याटसहित सम्झौता भएको थियो । मेसिन जिल्ला भित्रिएसँगै नमूना स्वाबको नतिजाका लागि हप्तौसम्म कुर्नुपर्ने र सिमित रुपमा मात्रै नमूना स्वाब संकलन गर्नुपर्ने बाध्यता हटेको छ । अब स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको एक टोली समुदाय स्तरमा गएर नमुना स्वाब संकलन गर्ने जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डाक्टर मिलन खड्काले बताए । यस मेसिनले दिनमा २०० नमुना स्वाब परिक्षण गर्न सक्छ ।
गत जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार असार १ गतेभित्र मेसिन ल्याएर परीक्षण थाल्ने तयारी गरेको भएपनि नेपाल र चिनको सिमानाका केरुङमा बाढी पहिरो आउँदा करिब दुई साता मेसिन थन्किएको जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. सन्दिप ओखेडाले बताए ।
मेसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वयले १५ लाख र गाउँपालिकाहरुले १०÷१० लाख छुट्याएका थिए् ।