नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो, ३७ हजारभन्दा बढी स्वस्थ

काठमाडौं, २७ भदौ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १ सय ७६ पिसिरआर परीक्षणमा एक हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५३ हजार १ सय २० पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ८ सय ५२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।
नेपालमा हाल १५ हजार २ सय ६० जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार १ सय ७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।