नेपालका ५ स्यानिटाइजरमा विषाक्त मेथानोल राखेर बिक्रिवितरण
तत्काल उत्पादन र प्रयोगमा रोक लगाउन विभागको निर्देशन

काठमाडौं, २७ भदौ । नेपालमा उत्पादन हुने पाँच ह्यान्ड स्यानिटाइजरमा विषाक्त मेथानोल राखेर बिक्रिवितरण गरेको पाइएपछि औषधि व्यवस्था विभागले तत्काल उत्पदानमा रोक लगाउन निर्देशन दिएको छ ।
विभागले सूचना जारी गर्दै काठमाडौंका ४ र भक्तपुरका एक उद्योगले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरित ह्यान्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल मिसाएर उत्पादन गरेको पाइएको हुनाले तत्काल उत्पादनमा र प्रयोगमा रोक लगाएको हो ।
रोक लगाइएका स्यानिटाइजरहरुमा भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंका हाइजेनिक सप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फूड इन्डस्ट्रिको एडभान्स्ड ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हेरिटिकल प्रोडक्ट्सको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिंग जेल र सूर्यमुखी हर्बल प्रोडक्ट्सको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर रहेका छन् ।
यी सबै उद्योगले उत्पादन गरेका यी स्यानिटाइजर कसैले खरिद गरेको भए तत्काल प्रयोग नगर्न र बिक्रि गर्नका लागि पसलमा राखे तत्काल बिक्रि वितरणमा समेत रोक लगाउन विभागले आग्रह गरेको छ ।