चितवनमा कोरोना आशंकामा मृत्यु भएका तीन जनामध्ये एकमा कोरोना पुष्टि, दुईको नतिजा नेगेटिभ

चितवन, २७ भदाै । चितवनका एक जना पुरूषमा मृत्युपछि काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पूर्वी चितवनकाे रत्ननगर नगरपालिका–२ का ४६ वर्षीय पुरुषकाे बिहीवार राति १०:३५ मा भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा मृत्यु भैसकेको अस्पतालले जनाएकाे थियाे । मृतकको आफन्तले दिएकाे जानकारी अनुसार निजलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या रहेको थियाे ।
उनको काेराेनासँग मिल्दोजुल्दो लक्षण देखिएकाेले मृत्यु पश्चात् स्वाब परीक्षणका लागि पठाईएकाे थियाे । स्वाब परिक्षण गर्दा शुक्रवार राती प्राप्त नतिजा अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
उता पूर्वी चितवनको राप्ती नगरपालिका–५ का ६१ वर्षीय पुरूषकाे भरतपुर अस्पतालकाे आइसीयूमा उपचारकाे क्रममा शुक्रवार साँझ ७ बजे मृत्यु भएको थियाे ।
भरतपुर अस्पतालमै उपचारकाे क्रममा बिहीवार र शुक्रवार मृत्यु भएका अन्य दुईजना महिलाकाे भने काेराेना रिपोर्ट नेगेटिभ आएकाे अस्पतालले जनाएकाे छ ।
यसअघि भरतपुर अस्पतालकाे आकस्मिक कक्षमा भदाै १५ गते चितवनका तीन जनाकाे मृत्यु भएकाे थियाे । उनीहरू तीनै जनाकाे मृत्युपछि काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
याेसँगै अहिलेसम्म चितवनमा २७ जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ । यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका ११ जनाकाे मृत्यु भईसकेकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।