कोरोना महामारीको अवस्था र अनुगमनका लागि विशेष समिति गठन गर्न उपत्यकाका सांसदहरुको माग



Download our app to get more features

काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन गरी सरकारलाई राय सुझाव दिन संसदीय समिति गठन गर्न माग गरेका छन् ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेट गरी उपत्यकाका २० जना सांसदहरुले कोभिड १९ को कारणले दैनिक ज्यालादारी मजदुर, उद्योग धन्दा, शैक्षिक संस्था तथा सर्वसाधारणमा परेको असरको अनुगमन गर्ने गरी संसदीय समिति गठन गर्न माग गरेका हुन्  ।

समिमितले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको समस्या र तिनको व्यवस्थापनमा देखिएका बेथितीको अनुगमन गरी सरकारलाई राय सुझाव दिने सांसदहरुले बताएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार सांसदहरुले आर्थिक वर्ष २०७६÷७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित बाँकी रकम र आर्थिक वर्ष ०७७÷०७८ को रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउने प्रस्ताव पनि गरेका छन् ।

माधवकुमार नेपाल, शशी श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, कृष्ण राई,  प्रकाशमान सिंह, गगन थापा, राजेन्द्र केसी, दिव्यमणि राजभण्डारी, भीमसेनदास प्रधान,  राजेन्द्र श्रेष्ठ, रेनुका गुरुङ लगायतका सांसदहरु सभामुखलाई भेट्न पुगेका थिए ।

Last modified on 2020-09-11 15:39:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts