तिलोत्तमामा सहरी स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीको भवन उद्दघाटन र शिलान्यास गरियो

रुपन्देही, २६ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सहरी स्वास्थ्य केन्द्र भवनको उद्दघाटन गरिएको छ । यस्तै अर्को स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन उद्दघाटन र करहिया स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको हो ।
सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा नं. ८ को ज्योतिनगरमा निर्माण हुन थालेको छ ।
हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा सहरी स्वास्थ्य केन्द्र निर्माणको काम भैरहेको छ । हालसम्म तिलोत्तमाका दश वटा वडामा सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । बाँकी वडाहरुमा भवन निर्माण हुने प्रक्रियामा छन् ।
जग्गाको स्वामित्व नहुँदा करहिया स्वास्थ्य चौकीको लामो समयदेखि आफ्नै भवन निर्माण हुन सकेको थिएन । ज्योतिनगरमा झण्डै ६ कठ्ठा जमिनको स्वामित्व चौकीको नाममा आएपछि आफ्नैं सुविधासम्पन्न भवन निर्माण थालिएको हो । चालु आर्थिक वर्षभित्र भवनको निर्माण कार्य सकिने नगरपालिकाले जनाएको छ ।
भवन उद्दघाटन तथा शिलन्यास कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले आफ्नै भवनबाट प्रवाह गरिने स्वास्थ्य सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै उनले सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरबासीलाई आग्रह गरे ।