प्लाज्मा दानका लागि रेडक्रस सोसाइटी र नेपाल चिकित्सक संघले गर्यो सम्झौता, रगत संकलन सुरु



Download our app to get more features

काठमाडौं, २६ भदौ । नेपाल रेडक्रस सोसाइटीले कोभिड १९ संक्रमितहरुको प्लाज्मा थेरापी विधिबाट गरिने उपचारका लागि रगत संकलनको काम सुरु गरेको छ ।

बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि पहिलो रक्तदान गरेर रगत संकलनको काम सुरु गरिएको हो ।

कोरोना संक्रमणपछि निको भएका तनहँु घर भई हाल काठमाडौं बस्दै आएका रानाभाटले अरुलाई पनि रक्तदानका लागि अनुरोध गरे । उनले भने, ‘मैले पहिले कहिल्यै रक्तदान गरेको थिइन । कोरोना संक्रमण निको भएपछि मेरो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएर रक्तदान गरेको हुँ ।’

नेपाल सरकार, नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा नेपाल रेडक्रसले यो सेवा सुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताइन् ।

नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता पनि भएको छ । बुधबार नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ । त्यसमा चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड १९ संक्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ ।

रेडक्रसको समन्वयनमा प्लाज्मा दान गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ । 

पहिलो दाता रानाभाटलाई महामन्त्री पीताम्बर अर्यालले सम्मानपत्र हस्तान्तरण गरेका थिए । अवसरमा सोसाइटीका अध्यक्ष डा. नेत्र भने, ‘समग्र रक्तसञ्चार सेवामा रेडक्रस एक्लो एक्टर होइन र कन्सोटियमको अवधारणा लिई साझा दायित्व बहन गर्न सवै सरोकारवालाहरुलाई म अनुरोध गर्दछु ।’

यस्तै काठमाडौं उपत्यका बारिह पनि रगत संकलन सुरु भएको छ । स्थानीय अस्पतालसँगको सहकार्यमा नेपाल रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रगत संकलन सुरु गरिसकेका छन् । त्यसैगरी धनुषा  र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने निर्देशक पौडेलले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts