गौतमबुद्ध अस्पतालले ४ सय २६ मिर्गौलाका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने



Download our app to get more features

रुपन्देही, २५ भदौ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलासिस गराईरहेका बिरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनिहरुलाई आर्थिक राहत होस् भनेर ४ सय २६ जना बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताए ।

कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका बिरामीहरुको मनोबल बढाउन सहयोग पुग्ने आलमले बताए । 
‘बिरामीहरुको कोरोना बीमा गरिदिँदा अस्पताललाई सामान्य आर्थिक भार थपिएपनि संक्रमण भईहाल्यो भने बिरामीहरुको लागि भने त्यसले ठूलो राहत मिल्ने छ ।’ आलमले भने ।

सरकारले मिर्गौलाका बिरामीहरुको डायलासिस निःशुल्क गरेपनि अन्य औषधि तथा बेलाबेलामा गर्नुपर्ने ल्याब परीक्षणलाई निःशुल्क गरेको छैन ।

अस्पतालले भने डायलाईसिस बाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाईरल टेष्ट समेत आफ्ना सबै विरामीहरुको निःशुल्क गर्दै आएको छ । त्यस्तै अति विपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोहि नभएका मिर्गौलाका बिरामीहरुको औषधि तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलासिसको लागि अस्पताल आउने बिरामीहरुलाई नियमित अस्पताल ल्याउने र छोड्ने व्यवस्था समेत गर्दै आएको छ ।

अस्पतालले डायलासिसको बिरामीहरुलाई लैजान र छोड्नको लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ ।

अस्पतालमा हाल ४ सय २६ जनाले नियमित मिर्गौलाको डायलासिस गराउंदै आएका छन् । काठमाण्डौभन्दा बाहिर सबैभन्दा ठूलो मिर्गौलाको डायलासिस युनिट संचालन गर्दै आएको मुटु अस्पतालमा बुटवलमा ३ सय ५४, दाङको लमहीमा ४९ र पाल्पामा २३ जना विरामीले नियमित डायलाईसिस गराउंदै आएका छन् ।

अस्पतालले बुटवलमा २० तथा लमही र पाल्पामा १०÷१० वटा मेशिनबाट डायलासिस सेवा संचालन गर्दै आएको छ । त्यस्तै स्याङजाको वालिङमा पनि डायलासिस सेन्टर संचालनको अन्तिम तयारीमा रहेको अस्पतालले जनाएको छ ।

Last modified on 2020-09-10 15:38:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts