सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

सुर्खेत, २५ भदौ । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो। केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए।
कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन्। अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनका सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन्।
करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनले आफैँ क्वारेन्टिन र आइसोलेशनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आएका थिए। उनले आइसोलेशनका सङ्क्रमितलाई योगाभ्याससमेत गराउँथे।