आपतकालीन स्वास्थ्य तयारीले कोभिड–१९ महामारी विरुद्ध लड्न सहयोग भयोः मन्त्री ढकाल

काठमाडौं, २५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाले हेपाटाइटिस बी नियन्त्रणको लक्ष्य हासिल गरेको दावी गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समिति (दक्षिणपूर्वी एसिया) को ७३ औ बैठकमा मन्त्री ढकालले सन् २०१९ मा नेपालले हेपाटाइटिस बी नियन्त्रणको लक्ष्य हासिल गरेको बताए ।
उनले क्षयरोगको प्रकोप थाहा पाउन राष्ट्रिय सर्वेक्षण गर्न सफल भएको भन्दै क्षयरोग अन्त्य गर्ने रणनीति तथा योजना बनाउन अद्यावधिक र महत्वपुर्ण सूचना उपलब्ध गराएको पनि उल्लेख गरे ।
उनले भने, ‘तथ्यांकमा आधारित भएर नेपाल अहिले क्षयरोगका लागि नयाँ रणनितिक योजना विकास गरिरहेको छ । जसको आधारमा आगामी दिनमा काम गर्न सजिलो हुनेछ ।’
नेपालले विगतमा सुदृढ गरेको आपतकालीन स्वास्थ्य तयारीले कोभिड–१९ को महामारीको प्रतिकार्य गर्न सहयोग गरेको भन्दै उनले यसका अतिरिक्त नेपालले विगतमा हासिल गरेका पोलियो उन्मुलन, रूवेला नियन्त्रण, ट्रकोमा नियन्त्रण आदि जस्ता उपलब्धिहरूलाई कायम राख्न सफल भएको उल्लेख गरे ।
मन्त्री ढकालले भने, ‘सन् २०२० को शुरुवातदेखि नै हामी सबै जना कोभिड–१९ को विश्वव्यापी महामारीको प्रतिकार्यका लागि संघर्षरत छौं । यसले केवल मानव स्वास्थ्यमा मात्रै नकारात्मक असर पारेको छैन बल्कि सामाजिक र आर्थिक क्षेत्रहरूमा पनि व्यापक असर गरेको छ । यस महामारीले स्वास्थ्य प्रणाली र स्रोतहरूमा अत्यधिक दबाब सृजना गरेको छ । म अंग्रपंक्तिमा अथकरूपले सेवा प्रदान गरीरहनु भएका स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गर्दा पनि बढ्दो संक्रमितहरूको संख्याले रोग नियन्त्रणका लागि थप कृयाकलापहरू र श्रोतहरूको आवश्यकता बढाउदै लगेको छ, खासगरी बढी जनघनत्व भएका प्रमुख शहरहरूमाबढी प्रभाव परेको पनि उनले जानकारी गराए ।
उनले महामारीका दौरान स्वास्थ्य सेवाहरू केही हदसम्म प्रभावित भएको भएतापनि नेपालले अत्यावश्यक स्वास्थ्य सेवा र प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न धेरै पहल गरेको पनि बताए ।
अत्यावश्यक सेवाहरूको सुनिश्चितता यस्ता महामारीका बेला निकै नै चुनौतीपूर्ण हुन जान्छ र यस चुनौतीको निवारणका लगि टेलिमेडिसन, कल सेन्टर जस्ता वैकल्पिक सेवा प्रवाह गर्ने संयन्त्रहरू स्वास्थ्य प्रणालीको सुधारका अभिन्न अंग बन्नु पर्ने उनको भनाइ छ ।