काठमाडौंमा यातायातदेखि फुटपाथ सम्मको व्यापार खुला,यस्ताछन मापदण्ड

काठमाडौं,२४ भदौ । काठमाडौं उपत्यकामा बिहीबारदेखि ‘सीमित निषेधाज्ञा’ लागू गरिँदैछ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले बुधबार यस्तो निर्णय गरेको हो।
निषेधाज्ञा खुकुलो हुँदै केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
‘निषेधाज्ञाको पनि विभिन्न स्वरूप हुन्छन्, निषेधाज्ञालाई कायमै राखेर पनि धेरैजसो क्षेत्र खोल्ने नखोल्ने निर्णय गर्न सकिन्छ,’ दाहालले भने, ‘आजको बैठकले त्यसरी नै निर्णय गरेको हो।’
उनका अनुसार अब जोरविजोरमा सार्वजनिकरनिजी सवारीसाधन चल्दैछन स्वास्थ्य मापदण्ड भने पालना गरेको हुनुपर्ने उनको भनाइ छ।
१६ सिटभन्दा माथिका सवारीसाधन चल्छन्। तर, माइक्रो बस, टेम्पो चल्दैनन्। १४ सिटभन्दा धेरै क्षमताका गाडीमा आधा क्षमतामा मात्रै यात्रु राख्न पाइनेछ, ट्याक्सीमा बढीमा तीन जना मात्रै राख्न पाइनेछ । मालवाहक गाडीमा भने जोर बिजोर लागू हुने छैन ।
दाहालका अनुसार भोलिदेखि सबै खालका पसल खुल्नेछन्, तर बढी भीड हुने ठाउँहरूलाई साताको तीन दिन मात्र खोल्न दिइने छ। अब सपिङ मलहरू साताको तीन दिन मात्रै खुल्नेछन्।
यस्तै दूध, तरकारी फलफुललगायतका पसल बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ । निर्माण सामग्री बेच्ने पसल दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म, होम डेलिभरी सेवा १२ बजेदेखि ७ बजेसम्म, सहकारी संस्था ११ बजेदेखि ३ बजेसम्म खोल्न पाइनेछ ।
त्यस्तै शपिङ मल, कपडा, जुत्ता तथा कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
भाँडा, भान्साजन्य र अन्य पसल आइतबार, मङ्गलबार र शुक्रबार मात्रै खोल्न पाइनेछ । फर्निचर र अटो सोमबार र बुधबार खुल्ने छन् । फुटपाथ पसल बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
ग्यारेज बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ भने ठूला उद्योगले कामदारलाई उद्योग परिसरमै क्याम्पमा राख्नुपर्नेछ । तर जमघट गर्न पाइने छैन ।
धार्मिक स्थल जस्तै, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च खुल्ने छैनन् ।
शैक्षिक संस्था, जिमखाना, खेलकुद, पार्टी प्यालेस, फिल्म हल, पुस्तकालय, सङ्ग्रहालयलगायतका क्षेत्र भने बन्द नै रहने छन् ।