२४ घन्टामा थप ६ जना कोरोना संक्रमितको निधन, मृत्युदर शून्य दशमलव ६३ प्रतिशत

काठमाडौं, २४ भदौ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।
बुधवार कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुषहरु रहेका छन् ।
काठमाडौंकी ८३ वर्षीया महिला, कास्किकी ७३ वर्षीया महिला र बाँकेकी ८० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यस्तै काठमाडौंका ६७ वर्षीय पुरुष, अर्घाखाँचीका ४२ वर्षीय पुरुष र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको दर कुल संक्रमितमध्ये शून्य दशमलव ६३ प्रतिशत पुगेको छ ।
यसैगरी नेपालभर हाल एक सय ६२ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।