अस्पतालमा छैनन् फार्मेसी
पोखरा, २७ असार । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।
लामो समयको तयारीपछि फार्मेसी चालू महिनाबाटै सञ्चालनमा आएको हो । पोखरा उपमहानगरमा दर्जन हाराहारी अस्पताल छन् । तर, बिरामीको सर्वाधिक चाप क्षेत्रीय अस्पतालमै हुने गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सर्वोच्चको आदेशपछि केही समय तयारीमा लागे पनि फार्मेसी सुचारु गरेपछि क्षेत्रीय अस्पतालमा बिरामीलाई राहत भएको छ । पोखरामा अस्पतालको आफ्नै फार्मेसी सुरु भए पनि अन्य जिल्लाको अवस्था त्यस्तो छैन् ।
पर्वत जिल्ला अस्पतालमा दुई वर्ष अघिदेखि साझा स्वास्थ्य सेवाले चलाएको फार्मेसी अहिलेसम्म हटेको छैन् । अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्दा सरकारले सूचीकृत गरेका ७० प्रकारका औषधिहरु निःशुल्क र अरु औषधिमा पनि १५ देखि ४० प्रतिशतसम्म छुट दिन सकिने भए पनि अस्पताल प्रशासनले त्यसबारे चासो दिएको छैन ।
अस्पताल आएका बिरामीले त्यहाँबाट पाइने निःशुल्क औषधि पनि हाताभित्रैको साझा तथा बाहिरका निजी फार्मेसीबाट महंगोमा किन्न बाध्य छन् । त्यस्तै तनहुँको दमौली अस्पतालमा निजी क्षेत्रकै औषधि पसल सञ्चालनमा छ ।
अस्पतालभित्र रेडक्रस सोसाइटी जिल्ला शाखाले निर्माण गरेको भवनको कक्षबाट निजी फार्मेसी सञ्चालन हुँदै आएको हो ।