बुटवल उपमहानगरपालिकाद्वारा सडकबेसहराको उद्दार र निःशुल्क पिसिआर परीक्षण सुरु

रुपन्देही, २४ भदौ । बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसहरा सहयोगापेक्षीहरुको उद्दार गरि निःशुल्क पिसिआर परीक्षण थालेको छ ।
बुटवल सडक मानवमुक्त उप महानगरपालिका हो । सडक मानवमुक्त घोषणा गरेयता सडकमा फेला पर्ने कुनै पनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्दार गरिंदै आएको छ ।
आफन्तबिहिन भएर सडकमा बेबारिसे जीवन बिताएका बेसाहराहरुलाई कोरोना संक्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उदेश्यले पिसिआर परीक्षण शुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसहराहरुको उद्दार गरि बुटवल स्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले जानकारी दिए ।
यसमध्ये आठ जनाको पिसिआर परीक्षण गरिएको छ र उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरुलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ । प्रमुख सुवेदीका अनुसार बुटवल भित्र कोही पनि अशक्त र रोगीहरु कोरोनाको जोखिममा नपरुन भन्ने उदेश्यले सडकमा बेसाहरा भएकाहरुको उद्दार र पिसिआर परीक्षण गरिएको हो ।
आठजनाको स्वाव संकलन गरि प्रयोगशालामा पठाइएको र रिर्पोट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको छ । उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पीपीई लगाएका उद्दार कर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।
कोरोना कहरका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क समेत गर्न नसकेको अवस्थामा बुटवल उपमहानगरले भने सडकमा बेसाहरा भएर बैचैन जीवन बिताएकाहरुलाई नगर प्रहरी मार्फत उद्धार गरि मानव सेवा आश्रममा राखेर नमुना काम गरेको छ ।
बुटवल उपमहानगरले सहयोगापेक्षीहरुको उद्दार र व्यवस्थापनमा समेत सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिए । उनका अनुसार बुटवल क्षेत्रबाट मात्रै लकडाउनको अवधिमा २८ जनाको उद्दार गरिएको हो भने प्रदेश ५ भरि ४५ जनाको उद्धार गरिएको छ । प्रदेशभरीमा बुटवलमा प्रभावकारी र नमुना काम भइरहेको उनको भनाइ छ ।
बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरि बचाउने गरि पिसिआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गोमादेवी आचार्यले बताईन् । उनले मिर्गौलाको डायलासिस गराउनुपर्ने र क्यान्सर रोगीहरुको निःशुल्क पिसिआर परीक्षण गरिसकेको पनि जानकारी गराइन् ।