भरतपुर अस्पतालमा उपचाररत नवलपुरका एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु

चितवन, २३ भदाै । भरतपुर अस्पतालमा उपचाररत नवलपुरका एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
नवलपुर जिल्लाकाे देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषकाे उपचारकाे क्रममा मंगलवार साँझ ५ बजेर ३० मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएकाे छ । उनी खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १९ गते अस्पताल भर्ना भएका थिए ।
अस्पतालका अनुसार उनकाे भदाै १७ गते नै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । मिर्गौलाको रोगी उनकाे केही समयदेखि डायलाइसिस चलिरहेकाे थियाे । मृतक ती पुरूषकाे भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
याेसँगै अहिलेसम्म चितवनमा २३ जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या १२ छ । याेसँगै यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका ११ जनाकाे मृत्यु भईसकेकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।