नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६ पुग्यो, मृत्युदर स्थिर

काठमाडौं, २३ भदौ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर एक सातादेखि स्थिर रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमितमध्ये मृत्यु हुने दर पछिल्लो एक सातादेखि स्थिर रहेको पाइएको छ ।
मन्त्रालयले मंगलवार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया एक महिला, ७०, ५४, ६०, ८५ र ६२ वर्षीय पाँच जना पुरुषहरु रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ । मृत्युदर शून्य दशमलव ६ प्रतिशतमै स्थिर छ ।
एक साता अघि भदौ १७ मा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दरपनि शून्य दशमलव ६ प्रतिशत नै रहेको थियो । भदौ १७ मा नेपालभर ४१ हजार ६ सय ४९ जना संक्रमितमध्येको मृत्युदर शून्य दशमलव ६ प्रतिशत थियो भने भदौ २३ मा ४८ हजार १ सय ३८ को कुल मृत्युदर शून्य दशमलव ६ प्रतिशत रहेको छ ।
मन्त्रालयकै तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा पछिल्लो एक सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुने दर स्थिर रहेको छ ।
यस्तै हाल नेपालभर १ सय ४४ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने २३ जनाको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ ।