नेपालमा कोरोना संक्रमणपछि निको हुनेको दर बढ्दैः दश दिनमै १० हजार स्वस्थ



Download our app to get more features

काठमाडौं, २३ भदौ । नेपालमा कोरोना संक्रमणपछि निको हुने दर पछिल्लो दश दिनमै झन्डै दश प्रतिशतले वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार नेपालमा कोरोना संक्रमणपछि निको हुने दरमा पछिल्लो समय सुधार हुँदै गएको छ । भदौ १३ मा कोरोना संक्रमणपछि निको हुनेको दर ५५ प्रतिशत थियो भने भदौ २२ मा निको हुने दर ९ दशमलव ९ प्रतिशतले बढेको छ ।

पछिल्लो एक महिनादेखि नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएकोमा निको हुने दरमा पनि सुधार हुँदै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ । 

मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भदौ १३ मा २० हजार ५ सय ५५ जना कोरोना संक्रमणपछि निको भइसकेका थिए । जुन दर ५५ प्रतिशत थियो भने भदौ २२ मा निको हुनेको दर १० हजारले वृद्धि भएको छ । भदौ २२ सम्म नेपालमा कोरोना संक्रमणपछि निको हुनेको दर ३० हजार ६ सय ७७ पुगेको छ । यो दर ६४ दशमलव ९ प्रतिशत हो ।

दश दिन पहिले नेपालमा २४ घन्टामा जम्मा ३ सय १३ जना कोरोना संक्रमणपछि निको भएका थिए भने भदौ २२ मा २४ घन्टामा १ हजार ७ सय ३६ जना निको भएका थिए । तर, संक्रमित हुने दर भने समान जस्तै छ । भदौ १३ मा २४ घन्टामा ८ सय ८४ जना नयाँ संक्रमित थपिएका थिए भने भदौ २२ मा २४ घन्टामा ९ सय ७९ जना नयाँ संक्रमित थपिएका थिए ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा पछिल्लो समय कोरोना संक्रमणपछि निको हुनेको दरमा सुधार हुँदै गएपनि संक्रमित थपिने दरमा सुधार नहुनु चिन्ताको विषय रहेकाले सबैलाई सचेत रहन आग्रह गरे ।

उनले सरकारले तय गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न भन्दै अनावश्यक रुपमा घरभन्दा बाहिर ननिस्कन र भिडभाड नगर्न पनि दोहोर्याए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts