सेनाको वीरदल गणले एकैदिन तयार पार्यो २२५ शय्याको आइसोलेशन

भक्तपुर, २२ भदौ । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकैदिनमा दुई सय २५ शय्याको आइसोलेशन वार्ड तयार पारेको छ । कोरोनाको महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र उनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारिएको हो ।
नेपाली सेनाको उपत्यका पृतना अन्र्तगत वीरदल गणले सैनिक आवासीय महाविद्यालय सल्लाघारीमा रहेको क्याम्पसको बीबीए ब्लकमा एक सय ५० र सूर्यविनायकमा रहेको वीरदल गणमा ७५ शय्या गरी दुई सय २५ शय्याको आइसोलेशन वार्ड तयार पारेको हो ।
वीरदल गणका गण प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले एकैदिनमा महाविद्यालयको भवनको २५ वटा कोठामा एक सय ५० शय्याको आइसोलेशन वार्ड तयार पारेको बताए।
आइसोलेशनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतना अन्तर्गतको वीरदल गणले गर्ने भएको छ । त्यस्तै चिकित्यसकसहितको स्वास्थ्यकर्मीको टोली, फोेहर व्यवस्थान र खानपिनको व्यवस्थापन सेनाको वीरेन्द्र अस्पताल छाउनीले गर्ने भएको छ । सैनिकको दुईवटै आइसोलेशनमा चिकित्सकसहित पाँच पाँच जनाको स्वास्थ्य टोली परिचालन गरिएको छ ।
कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेशन अभाव हुँदै गएपछि सेनाले सैनिकका लागि छुट्टै आइसोलेशन तयार पारेको हो ।
यसअघि पनि चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीको नेपाल विद्युत् प्राधिकरणको भवनमा दुई सय जना अट्ने क्षमताको क्वरेण्टीन, त्यही क्वरेण्टीनका लागि दुई सय शय्याको आइसोलेशन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र यूसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेशनको व्यबस्थापन पनि वीरदल गण नै गरेको थियो ।