पर्सामा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

पर्सा, २२ भदौ । पर्सामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–३० लाल पर्साका ५४ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको आईसीयूमा उपचारको क्रममा भृत्यु भएको हो ।
अस्पतालका चिकित्सक डा. नौसाद अलीका अनुसार मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते नारायणी अस्पतालले कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा पठाएको थियो ।
वीरगञ्ज हेल्थ केयरमा ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको थियो । तर विभिन्न दीर्घ रोगबाट ग्रसित उनमा कोभिड निमोनिया देखिएको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेको र उनको मृत्यु भएको हो ।
योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखया ४२ पुगेको छ ।