काठमाडौंमा २५ सयमात्रै आइसोलेसन बेड तयार, रफ्तारमा काम भएन



Download our app to get more features

काठमाडौं, २० भदौ । काठमाडौंमा छ हजार आइसोलेसन बेड बनाउने निर्णय गरेको सरकारले अहिलेसम्म दुई हजार पाँच सय बेड मात्रै तयार गरेको छ।

गत भदौ ४ गते मन्त्रिपरिषद बैठकले छ देखि १० हजारसम्म आइसोलेसन बेड बनाउने निर्णय गरेको थियो। त्यो निर्णय भएको दुई साताभन्दा धेरै समय भइसक्दा पनि निर्णयअनुसार तीव्र गतिमा आइसोलेसन बेड तयार गरिएका छैनन्।

अहिलेसम्म काठमाडौंमा दुई हजार पाँच सय बेड तयार छन्। सरकारले घोषणा गर्नुअगाडि नै काठमाडौंमा एक हजार बेड क्षमताका आइसोलेसन वार्ड तयार थिए।

काठमाडौं ललितपुर र भक्तपुरमा गरि एकीकृत आइसोलेसन बेड बनाउने भने पनि सरकारले आफ्नै प्रतिबद्धता अनुसारको काम गर्न सकेको छैन।

भदौ ३ गते उपत्यका नगरपालिका फोरमले समेत ५ हजारको संख्यामा आइसोलेसन बेड बनाउने भनेको थियो।

जनमैत्री अस्पतालमा ३ सय बेडको आइसोलेसन वार्ड तयार भएको छ। ललितपुरको स्टाफ कलेजमा १ सय, खरीपाटीमा ३ सय बेड तयार भएको छ उनले भने, सामाखुसीमा रहेको मानव आश्रममा ५ सय र बल्खुमा रहेको मानव आश्रममा ३ सय आइसोलेसन बेड तयार भएको छ।

देशभर भने अहिलेसम्म १९ हजार ४ ओटा आइसोलेसन बेड तयार भएका छन्।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा ४ हजार ४ सय ३९ आइसोलेसन बेड छ।

प्रदेश १ मा सबैभन्दा कम आइसोलेसन बेड छ। सिसिएमसीका अनुसार त्यहाँ १ हजार २ सय ११ वटा बेड छ।

संघीय राजधानी काठमाडौं रहेको वागमती प्रदेशमा अहिलेसम्म ३ हजार ६३ वटा आइसोलेसन बेड तयार गरिएको छ।

सुदुरपश्चिम प्रदेशमा ३ हजार ९ सय १९ वटा आइसोलेसन बेड रहेका छन्। प्रदेश २ मा ३ हजार १७ बेड छ भने गण्डकी प्रदेशमा १ हजार ४ सय १४ आइसोलेसन बेड रहेका छन्।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts