बुटबल उपमहानगरद्धारा डायलसिस गराउने सबै विरामीको निःशुल्क पीसीआर परीक्षण

रुपन्देही, २० भदौ। बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलिसिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । डायलिसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।
बुटवलमा स्थायी तथा अस्थाई रुपमा बस्दै आएका डायलिसिसका सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए ।
पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्थाकालाई बसेको स्थानै समेत पुगेर परीक्षण गर्नेगरि काम सुरु भएको प्रमुख सुवेदीले वताए । उनले अस्पतालहरुमा डायलिसिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै विरामीको निशुल्क परीक्षणको व्यवस्था मिलाइएको वताए ।
पीसीआर परीक्षणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने छ । बुटवलले कोभिडजन्य कामका सिफारिसलाई समेत सहज र निःशुल्क बनाएको छ ।
बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलिसिल गर्ने बिरामीको संख्या करिब छ सय रहेको छ । अहिले महामारीको बेलामा यी सबै विरामीको नियमित डायलिसिल अघि डेढ महिनामा दुई पटक पीसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
बुटवल उपमहानगरले बन्दाबन्दीले समस्या परेका दीर्घ रोगीलाई घरमै समेत पुगेर अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपांगता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ । बुटवलमा प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य आफै स्वास्थ्य प्राविधिकसहित संक्रमितको मनोबल बढाउन घरघरमा पुग्ने गरेकाछन् ।
विभिन्न ठाउँमा संक्रमितलाई हेय भावले हेरिने र दुव्र्यवहार हुने गरेका घटनाका समाचार आइरहेको बेलामा बुटवलमा भने प्रमुख, उपप्रमुख संक्रमितको घरघरमै पुगेर हौसला बढाउने कामको थालनी भएको हो ।
कोभिड संक्रमण भएर आइसोशलनमा बसेकालाई घरघमै पुगेर आयुर्वेद औषधी वितरण गर्नेक्रममा डायलसिसका विरामीका बारेमा सूचना पाउँदासाथ उपमहानगरले सबैको निःशुल्क परीक्षण गर्ने निर्णय गर्दै सबै वडामा तत्कालै निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले वताए ।
डायलासीस गराउनेमा सबैभन्दा धेरै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पतालमा आउने विरामी छन् । त्यहाँमात्रै करिब तीन सय जनाको नियमित डायलिसिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
किन गरिन्छ डायलिसिस ?
मृर्गौलाले काम गर्न छोडेपछि मानिससँग दुई विकल्प हुन्छन्–प्रत्यारोपण र बाँचुन्जेल सातामा कम्तीमा दुईपटक डायलिसिस गर्ने । विशेष मेशिनको सहायताले शरीरमा रहेका विकारलाई निकालेर फाल्ने कामलाई डायलिसिस भनिन्छ । सरकारले यो सेवालाई निशुल्क बनाएको छ ।
चितिक्सकका अनुसार एकपटकको डायलिसिसमा चार घन्टासम्म समय लाग्छ । एउटा मेशिन तीन सिफ्टमा चल्दा दैनिक त्यसबाट तीनजनाको डायलिसिस सम्भव छ । स्वास्थ्य मन्त्रालयको हालैको तथ्यांक अनुसार निशुल्क डायलिसिसका लागि देशभर पाँच सय २१ वटा मेशिन चालु अवस्थामा छन् । यीमध्ये आधाभन्दा धेरै त काठमाण्डौमा छन् ।