निजी ल्याबको रिपोर्ट सरकारलाई मान्य हुने,तर बीमा कम्पनीलाई नहुने ?

काठमाडौं,२० भदौ। स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालाले दिएको पीसीआर रिपोर्टलाई पूर्ण मान्यता दिइएकाले अरुले पनि यसैलाई आधिकारिक मान्नुपर्ने बताएको छ ।
निजी प्रयोगशालामा पीसीआर जाँच भएका रिपोर्टलाई मान्यता नदिने बीमा कम्पनी र बीमा समितिले निर्णय गरिसकेका छन् । निजी प्रयोगशाला सरकारकै मापदण्ड अनुसार चलेका र उनीहरुको रिपोर्टकै आधारमा कोरोना सङ्क्रमित पहिचान हुने र उपचार गर्ने क्रम चलिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
उनले स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेका रिपोर्टलाई निजी या व्यापारिक स्वार्थको लागि शंका गर्नु आपत्तिजनक कुरा भएको बताएकाछन् ।
कोरोना बीमाको नाममा बीमा कम्पनीले १२ लाख भन्दा धेरै व्यक्तिबाट झण्डै ७५ करोड रुपैयाँ उठाइसकेका छन् । उनीहरुले बीमा दावीको रकम दिन पनि आनाकानी गरेका छन् ।
एक हजार चार सय ६७ जनाले बीमा भुक्तानी माग गरेकोमा जम्मा दुई सय ३९ जनाले मात्रै भुक्तानी पाएका छन् ।