शुक्रबार ललितपुरमा कर्फ्यू

ललितपुर, १८ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको छ।
शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार चक्रपथ भित्र पर्ने ललितपुर जिल्लाका सबै स्थानमा लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो।
बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ।
यसैक्रममा स्थानीयले ट्राफिक प्रहरीमाथि कुटपिट पनि गरेका थिए। कुटपिट गर्ने ९ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।