भरतपुर अस्पतालको आइसोलेसनमा एक सय शय्या थप, स्वास्थ्यकर्मीका लागि पनि बेड छुट्याइयो

चितवन, १८ भदौ । भरतपुर अस्पतालको आइसोलेसन वार्डमा एक सय शय्या थप गरिएको छ । योसँगै अब १ सय ७५ शय्या सञ्चालनमा आउने भएको छ । यसअघि अस्पतालमा ७५ शय्या सञ्चालनमा थियो ।
दिनहुँजसो कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आइसोलेसनमा शय्या विस्तार गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । थप गरिएका सय शय्या आइतवारबाट सञ्चालनमा ल्याइने उनले बताए ।
उनका अनुसार कोरोनाका शंकास्पद बिरामीका लागि ३५ शय्या, त्यसैगरि संक्रमित कर्मचारी तथा चिकित्सकका लागि आइसोलेसन क्याविन २४ शय्याको व्यवस्था गरिएको छ । यस्तै कोभिड आईसीयूलाई दशबाट विस्तार गरी १६ शय्या बनाइएको छ । भेन्टिलेटर पनि थप गरिने भएको छ ।
अस्पतालले कोरोना संक्रमण पुष्टि भएका गर्भवतीका लागि छुटै अप्रशेन थियटर समेत सञ्चालनमा ल्याउने भएको छ । उनीहरूबाट जन्मेका बच्चा राख्नका लागि छुटै एनआइसीयुको व्यवस्था समेत मिलाइएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।