नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित एकैदिन फेला, संख्या ४२ हजार नाघ्यो

काठमाडौं, १८ भदौ । नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित एकैदिन फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।
नेपालमा यसअघि ११ सय ११ जनामा कोरोना संक्रमण एकैदिन पुष्टि भएको थियो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार ४ सय १३ पिसिआर परीक्षण गरिएकोमा ३ सय ९४ जना महिला र ८ सय ३४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
उनले नेपालमा १२ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको जानकारी गराए ।
यस्तै पछिल्लो २४ घन्टामा थप ९ सय १७ जना कोरोना संक्रमित निको भएको र नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २४ हजार २ सय ७ पुगेको पनि उनले बताए ।
नेपालमा पछिल्लो समय संक्रमितको दर बढेसँगै निको हुने दर पनि वृद्धि भएको छ ।
यसैगरी नेपालमा हाल ७ हजार ७ सय ४२ जना होम आइसोलेसनमा रहेका छन् भने ६ हजार ७ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् ।