स्वास्थ्य प्रवक्ताले नै आयुर्वेदका बारे तथ्यहीन टिप्पणी गरे: आयुर्वेद चिकित्सक संघ

काठमाडौं, १८ भदौ । नेपाल आयुर्वेद चिकित्सक संघले स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले आयुर्वेदलाई लिएर तथ्यहिन टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ ।
बुधवार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भ्रमपुर्ण टिप्पणी गरेकाले आयुर्वेद चिकित्सा विभागका प्रमुख डा प्रकाश ज्ञवालिले आपत्ति जनाएका हुन् ।
आयुर्वेद चिकित्सामा माईक्रो बायोलोजी विषय समेत हुने भन्दै प्रवक्तालाई तथ्यमा आधारित भएर अभिव्यक्ति दिन उनले आग्रह गरेका छन् । साथै प्रवक्तालाई आफ्ना गलत भनाइ तत्काल फिर्ता लिन पनि अनुरोध गरेका छन् ।
यस्तै केही युट्युब च्यानल तथा अनलाइन पत्रिकामा आयुर्वेद चिकित्सा नपढेका, परिषदमा दर्ता नभएका तर गैह्र कानुनी रुपमा आफ्नो नामको अघिं डा लेखेर जनमानसमा भ्रम फैलाएका बिपी तिमिल्सिना, पूर्ण शाही, बद्रि गौतम लगायतका व्यक्ति आयुर्वेद तथा प्राकृतिक चिकित्सक नरहेको, काउन्सिलमा दर्ता नभएको तथा आयुर्वेद चिकित्सालाई समेत बदनाम गराउन लागि परेकाले ध्यानाकषर्ण भएको डा ज्ञवालीले बताए ।
आयुर्वेद चिकित्सक बन्नको लागि साइन्स, चिकित्सा प्रमाणपत्र तह उत्तीर्ण गरेर तथा प्रवेश परीक्षा पास गरेर साढे ५ वर्ष पढेको हुनुपर्दछ । साथै उक्त व्यक्ति नेपाल आयुर्वेद मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्दछ ।
दर्ता नभएका व्यक्तिले चिकित्सा सम्बन्धी सल्लाह दिन, उपचार गर्न तथा आफ्नो नामको अगाडी डा. लेख्न नपाइने नियम भएको र त्यस्ता गतिविधि गरेमा कारबाहीको भागिदारी हुनुपर्ने उनले बताएका छन् ।