एनएमए र अफिनले संक्रमित भएका चिकित्सकहरुका लागि आईसीयूसहितको बेड उपलब्ध गराउने

काठमाडौं, १८ भदौ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूटले कमिटि गठन गरेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट (अफिन) का अध्यक्ष बसन्त चौधरीले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी ज्वाईन्ट कन्सल्टेटिभ कमिटि गठन गरी अल्पकालिन र दीर्घकालिन योजनाहरु निर्माण गरी कार्यान्वयन गर्ने गरी द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बुधवार बसेको बैठकबाट अफिन र संघको मातहतमा रहेका निजी अस्पतालहरुमा कोभिड १९ बाट संक्रमित भएका चिकित्सकहरुका लागि आवश्यकता अनुसार बेड, आईसीयू तथा भेन्टिलेटरसहित बेडहरु प्राथमिकताका साथ उपलब्ध गराउने निर्णय गरिएको छ ।
दुबै पक्षमा सहकार्यमा कोभिड १९ को बढ्दो संक्रमणबाट जोगिनका लागि अस्पतालमा हुने भिडभाड कम गर्न ओपिडी, कुरुवा, स्वास्थ्यकर्मी सम्बन्धी प्रोटोकल तथा निर्देशिका तयार गर्ने पनि निर्णय भएको छ ।
यस्तै वीरगञ्जमा निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले तलब भत्ताको विषयलाई उठान गरी उपचार प्रक्रियामा सहभागि नहुने विषयमा दुबै पक्षले संयुक्त रुपमा प्रयासमा सहजीकरण गर्ने निर्णय पनि भएको छ ।