काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पहिलेको भन्दा खुकुलोः यी सेवाहरु सञ्चालनमा रहने



Download our app to get more features

काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकामा आजबाट लागू हुने गरि एक हप्ताकालागि निषेधाज्ञा थपिएको छ । 

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको विहीवार बसेको बैठकले भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 

तर, यसपटको निषेधाज्ञा भने पछिल्लो समयको भन्दा खुकुलो बनाइएको छ । अब निषेधाज्ञामा बिहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु, बिक्री गर्नका लागि पसल खोल्न पाइनेछ भने औषधि र पानीको पसल पनि दिनभर खोल्न पाइनेछ । 

त्यस्तै विकास निर्माणसँग सम्बन्धीत पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ भने छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि राति ९ बजेसम्म चल्न पाउने छन् ।

निषेधाज्ञाको समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले जारी गर्न बाँकी छ । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनु पर्ने र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नु पर्ने भएको छ ।

यसैगरी यस पटकको निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न पाइनेछ । त,र यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टाइनमा राख्नु पर्नेछ ।

यस्तै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पिसिआर परीक्षण गराएको र कोरोना नभएको हुनुपर्नेछ ।

हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिइने छ । तर, पिसिआर परीक्षण सुविधा नभएको ठाउँबाट आउनेहरुले भने काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धीत जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि भदौ १० देखि १७ सम्म थप गरिएको निषेधाज्ञा तेस्रो पटक फेरि एक हप्ताका लागि थप गरिएको हो । 

यसैगरी निषेध गरिएकाहरुमा जिल्ला भित्रका सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने, १२ वर्ष मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरु घरबाट बाहिर निस्कन नपाइने, होटेल, रेस्टुरेन्ट बन्द रहने छन् भने सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार गर्न नपाइने भएको छ । 

यस्तै शैक्षिक संस्थाहरु, फुटपाथमा पसल, ठेलागाड सञ्चालनमा पनि रोक लगाइएको छ ।

Last modified on 2020-09-03 07:08:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts