कोरोना विरुद्धको लडाईंमा तीन तहकै सरकारको समन्वय आवश्यक: मन्त्री ढकाल



Download our app to get more features

काठमाडौं, १७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भनुभक्त ढकालले कोरोना विरुद्धको लडाईंमा तीन तहकै सरकारको समन्वय आवश्यक रहेको बताएका छन् । 

बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरूसँग छलफल गर्दै मन्त्री ढकालले तीनै तहका सरकारले मिलेर कोभिड-१९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

उनले प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै कोभिड-१९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताए ।

जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री ढकालले कोभिड-१९ को अहिलेसम्म कुनै खोपको विकास नभैसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहायोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने बताए । उनले कोभिड अवस्था रहेसम्म जोखिम भत्ता र बीमाको कुरा जारी रहने पनि बताए । 

प्राविधिकारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भएपनि कोभिड १९ को लडाईंमा काम गरेका मान्छेले भत्ताबाट बिमुख हुन नपर्ने भन्दै मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८ हजार ५ सय जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवास्था मिलाइने पनि प्रतिबद्धता व्यक्त गरे । 

अहिलेको परिस्थितिमा समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको पनि उनको भनाइ छ । आइशोलेसन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकार मार्फत स्थानीय तहमा पठाएको स्मरण गर्दै उनले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भैरहेको बताए । 

मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी पनि गराएका थिए । 

भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी रहेका थिए भने प्रेदेश १ का सामाजिक विकासमन्त्री कोरोना पोजेटिभ भएर आइशोलेसनमा रहेको र प्रदेश २ का सामाजिक विकासमन्त्रीले समयको व्यवस्थापन गर्न नभ्याएर सहभागी हुन सकेनन् ।

सामाजिक विकासमन्त्रीहरुले कोभिड १९ व्यवस्थानाका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

Last modified on 2020-09-02 18:55:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts