भरतपुर प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोनाको रिपोर्ट अब मोबाइलमै

चितवन, १७ भदौ । भरतपुर– १० स्थित वाईपास रोडमा रहेको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा अब स्वाब परीक्षण गर्दा कोरोनाको रिपोर्ट मोबाइलमै आउने भएको छ ।
प्रयोगशालामा कोरोना भाइरस संक्रमण भए नभएको विषयमा जाँच गराउँदा सेवाग्राहीलाई अब प्रयोगशाला धाउन नपर्ने भएको हो ।
प्रयोगशालाकी इन्चार्ज डा नितु अधिकारीले कोरोना परीक्षणको नतिजा मोबाइलमै एसएमएसबाट जानकारी दिईने गरि सेवा सुरु गर्न लागिएको बताइन् । उनले आफ्नो रिपोर्ट पोजेटिभ वा नेगेटिभ के आएको छ भन्ने बारे मोबाइलमै आउनेछ, त्यसको लागि आवश्यक काम भईरहेको जानकारी दिइन् ।
आउने केही दिन मै यो सेवा सरु हुने र रिपोर्ट लिनको लागि अस्पताल धाउनु पर्ने समस्याको अन्त्य हुने उनको भनाइ छ ।
प्रयोगशालाले उपलब्ध गराएको आफ्नो ‘युजर आईडी र पासवर्ड’को सहायताले जुनसुकै ठाउँबाट पनि रिपोर्ट प्रिन्ट गर्न सकिने उनले बताइन् ।
यसअघि कोरोना पोजेटिभको नतिजा फोनबाट र नेगेटिभको नतिजा भरतपुर अस्पतालको फेसबुक पेजबाट जानकारी गराइँदै आएको थियो । अब यस प्रविधिबाट छिटो र सहज तरिकाले नतिजा बारे जानकारी पाउन र प्रिन्ट गर्न सक्नेछन् ।
यसैबीच प्रयोगशालाको नतिजा विश्वसनीय रहेको पनि दावी गरिएको छ । तेस्रो पटक क्रस भेरिफिकेशनको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाइएको नमुनाको नतिजाको आधारमा पनि शत प्रतिशत विश्वसनिय रहेको पुष्टि भएको प्रयोगशालाकी ईन्चार्ज डा. अधिकारीले बताईन् ।
केही दिनअघि क्रस भेरिफिकेशनका लागि १० वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाइएको थियो । जसमध्ये पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्ट आएका व्यक्तिको नमुना पठाइएको थियो । प्राप्त नतिजा अनुसार चितवनको प्रयोगशालामा पोजेटिभ आएका पाँच जनाको काठमाडौँमा पनि पोजेटिभ र यहाँ नेगेटिभ रिपोर्ट आएका व्यक्तिको काठमाडौँमा पनि नेगेटिभ आएको प्रयोगशालाकी ईन्चार्ज अधिकारीले बताईन् । यस नतिजाको आधारमा शत प्रतिशत विश्वसनिय भन्न सकिने उनको भनाइ छ ।
उनका अनुसार यसअघि असार महिनामा दोस्रो पटक क्रस भेरिफिकेशनको लागि यसैगरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाइएको नमुनाको नतिजा पनि शत प्रतिशत विश्वसनिय देखिएको थियो । गत चैत २३ गते औपचारिक रूपमा शुभारम्भ भएको भए पनि यस प्रयोगशालामा चैत २४ गतेबाट नियमित रूपमा कोरोना परीक्षण शुरू गरिएको थियो ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा माइक्रोबायोलोजिस्ट डा. नितु अधिकारी (ईन्चार्ज), माइक्रोबायोलोजिस्ट प्रदिप हमाल, सिनियर मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपक सुवेदी, त्यस्तैगरि, मेडिकल ल्याब टेक्नोलोजिस्टहरूमा मनीराम महत्तो, विश्वास न्यौपाने, सुरेश खतिवडा, सुमित्रा पौडेल, विश्वास पौडेल, धीरज कर्ण, प्रकाश सुवेदी, उत्तम कुँवर लगायतका टिम रहेका छन् ।
वैशाख ४ गते राप्ति नगरपालिका–८ निवासी वर्ष ६३ की महिला र उनको २७ वर्षको छोराको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । त्यतिबेला पहिलो पटक क्रस भेरिफिकेशनको लागि उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा वैशाख ५ गते त्यहाँ पनि दुवै जनाको कोरोना पोजिटिभ देखिएको थियो । जुन चितवनमा कोरोना संक्रमण भेटिएको यो नै पहिलो घटना थियो । विदेशबाट फर्किएका ती आमा–छोरामा बिना लक्षण कोरोना संक्रमण देखिको थियो ।
भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार मंगलबार दिउँसोसम्मको तथ्याङ्क अनुसार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा अन्य जिल्लाका समेतगरि २० हजार ३ सय १० वटा नमुनाको आरटी पिसिआर प्रविधिबाट परीक्षण गरिएको छ । त्यसमध्ये चितवन जिल्ला भित्रका मात्रै १५ हजार ५ सय ६९ नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।