कोरोना विरुद्धको खोप नेपालमा परीक्षण गर्ने विषयमा अन्तिम निर्णय हुन बाँकीः डा ज्ञवाली



Download our app to get more features

काठमाडौं, १७ भदौ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा कोरोना भाइरस विरुद्धको कुनैपनि खोपको परीक्षणको विषयमा निर्णय नभएको प्रष्ट पारेको छ ।

परिषदले कोरोना भाइरस विरुद्धको खोपको विकास विश्वका विभिन्न मुलुकहरुमा भइरहेको र नेपालमा पनि परीक्षण गर्ने विषयमा छलफल मात्रै भइरहेको बताएको छ ।

नेपालमा पनि कोरोना विरुद्धको खोपको परीक्षण हुने भनेर बाहिर आएको हल्लाको पछि नलाग्न भन्दै परिषदले खोपको प्रभावकारिताको विषयमा सम्भाव्यता अध्ययन गरिरहेको पनि जनाएको छ ।

परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा उत्पादित र अनुसन्धानरत एन्टिभाइरल औषधि (रेम्डीसिभर, भ्याविपिराभिर) र खोपको नेपालको हालको परिस्थितिमा प्रयोगमा ल्यानुपूर्व तीनको प्रभावकारिता र सम्बन्धमा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै नेपालमा प्रयोग वा परीक्षणमा आउने विषयमा ठोस निर्णय नभएको बताए ।

बेलायको अक्सफर्ड विश्वविद्यालयले गरिरहेको कोरोना भाइरस विरुद्धको खोपको विकास, रुसले विकास गरिरहेको स्पूतनिक भी, चीनमा उत्पादित खोप लगायतका विषयमा विश्वमै अनुसन्धान भइरहेकाले ती खोपको नेपाली जनसमुदायमा प्रभावकारिता र असरबारे अनुसन्धान गर्नेबारे छलफल भइरहेको तर निर्णय भने नभएको डा ज्ञवालीले उल्लेख गरे ।

उनले भने, ‘विश्व समुदायमा भएको अनुसन्धानको स्थिति, नतिजा र प्रभावलाई मध्यनजर गरी नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका अनुसार तेस्रो चरणको क्लिनिकल परीक्षण मात्रै कार्यान्वयन हुने व्यवस्था छ । यस किसिमका कुनैपनि राष्ट्रियस्तरका अनुसन्धानहरु कार्यान्वयव गर्नुपूर्व परिषदको आचारसंहिता बोर्डको अनुमति भने अनिवार्य छ ।’

साथै परीक्षणका लागि स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, औषधि व्यवस्था विभाग तथा सरोकारवाला स्वास्थ्य अनुसन्धान विज्ञ, संस्था र निकायसँग समन्वय गरी आवश्यक अनुसन्धानको तयारी र योजनामा परिषद रहेको डा ज्ञवालीले जानकारी गराए ।

उनले हालसम्म परिषदले वा सरकारले कुनैपनि खोपको समुदायस्तरमै परीक्षण गर्ने विषयमा निर्णय नभएको तर छिट्टै अन्तिम निर्णयमा पुग्ने बताए ।

Last modified on 2020-09-02 07:52:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts