वीर अस्पतालको ओपीडी सेवा बन्द हुने

काठमाण्डौ, १६ भदौ । वीर अस्पतालका डाक्टरसहित ७१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
अस्पतालका निर्देशक डा केदार सेन्चुरीले मंगलबार दिउँसोसम्म ७१ जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएको बताए । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएकाले बुधबार र बिहिबार दुई दिन ओपीडी सेवा पूर्ण रुपमा बन्द गर्ने जानकारी दिएकाछन् ।
हालसम्म वीर अस्पतालमा मात्रै १२ जना चिकित्सक, १२ भन्दा बढी नर्स, अन्य स्वास्थ्यकर्मी एवं कर्मचारीसहित ७१ जनामा कोरोना पुष्टि भइसकेको छ । आज गरिएको परीक्षणमा मात्रै वीर अस्पतालका १३ जनामा कोरोना पुष्टि भएको डा सेन्चुरीले बताए ।
उनले सबै स्टाफलाई एउटै गाडीमा राखेर ल्याउँदा त्यसमा पनि संक्रमण फैलिएको हुनसक्ने अनुमान गरेकाछन् ।