कोरोनालाई जितेर छिट्टै नागरिकको सेवामा फर्किन्छु : मेयर शाक्य

काठमाण्डौ, १६ भदौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई जितेर नागरिकको सेवामा फकिर्ने विश्वास व्यक्त्त गरेकाछन् ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गरेकाहुन । ‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनुभएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’
उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाण्डौ र उपत्यकावासीलाई जोगाउन अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई सङ्क्रमण पुष्टि भएको जनाएकाछन् ।
उनले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको जानकारी गराएकाछन् ।
होम आइसोलेशनमा रहे पनि काठमाण्डौ महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेकाछन् ।