कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा दान गर्नेलाई नेपाल चिकित्सक संघले सम्मान गर्ने

काठमाडौं, १६ भदौ । नेपाल चिकित्सक संघले कोरोना संक्रमित बिरामीलाई प्लाज्मा दान गर्नेलाई सम्मान गर्ने भएको छ ।
संघले कोरोना भाइरसका कारण संक्रमित भएकाहरुलाई प्लाज्मा दान गरेर जीवन दान गर्ने सबै व्यक्तिहरुको नाम संकलन गरि सम्मान गर्ने निर्णय गरेको हो ।
संघका महासचिव डा बद्रि रिजालले देशभरका कोरोना भाइरसबाट संक्रमित भई निको भएर अन्य संक्रमित बिरामीहरुको जीवन रक्षा गर्नका लागि ‘प्लाज्मा’ दान गर्नेहरुको विवरण संकलन गरेर अवस्था सामान्य बनेपछि ‘प्रशंसा–पत्र’ सहित सम्मान व्यक्त गर्ने निर्णय गरिएको बताए ।
यस्तै हाल नेपालका विभिन्न ठाउँमा सक्रमणभई निको भएका व्यक्तिहरुले संक्रमणको दौरानमा अपनाउनु भएको सजगता, घर परिवार तथा समाजले प्रदान गरेको हौसला र आवश्यक उपचारका कारण निको भएको अनुभव र संक्रमित हुँदा सिर्जना भएको मानसिक तनाव लगायतका अनुभवहरुलाई सार्वजनिक गरी अन्य संक्रमितहरुको मनोबल उच्च पार्दै उपचारमानीजहरुकै सहयोग र प्लाज्मा दानबाट जीवन रक्षा गरी समाजमा पुर्नस्थापना गराउन सकिने सन्देश सहितको अभियान पनि संघको तर्फबाट सञ्चालन गरिने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
डा रिजालले कोरोना भाइरस संक्रमणको निदानका लागि हालसम्म प्रभावकारी औषधि तथा खोप पत्ता नलागेको हुनाले प्लाज्मा दान गर्नका लागि पनि अपिल गरे ।
‘एक पिन्ट प्लाज्मा’ बाट हजारौं मानिसहरुलाई जोगाउन सकिने भएकाले प्लाज्मा दान गरेर मानिसहरुको जीवन जोगाउनमा सहयोग गर्न सबैलाई अपिल गरिएको पनि उनले बताए ।